समाचार
२२ औं अधिवेशनको तेश्रो बैठक
भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशन सम्पन्न
___________________________________________________
६७ करोड ५८ लाख ४७ हजार रुपैयाँको बजेट सर्वसम्मतिले पारित
भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशन मिति २०८३ /०२/२९ गते सुरू भई आज मिति २०८३/०३/३० गते तेश्रो बैठकमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। बैठकबाट आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित भएको छ। पारित बजेटमध्ये चालु तर्फ ४७ करोड ७७ लाख रुपैयाँ तथा पुँजीगत तर्फ १८ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगर सभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजकद्वारा प्रस्तुत भिमाद नगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य, नगर सभा सदस्य एवं सुशासन समितिका संयोजक श्री अणबहादुर शाहीद्वारा प्रस्तुत भिमाद नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३, नगर सभा सदस्य एवं विधायन समितिका संयोजक श्री पदमबहादुर थापाद्वारा प्रस्तुत भिमाद नगरपालिकाको विधायन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३ तथा भिमाद नगरपालिकाको विज्ञापन विधेयक, २०८३ नगर सभाबाट सर्वसम्मतिले पारित भएका छन्।
यसका साथै, तीन सदस्यीय मूल्याङ्कन समितिले निर्धारण गरेका विभिन्न मापदण्डका आधारमा आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गरी भिमाद नगरपालिकाको सेवा प्रवाह तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याउने नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई सम्मान गरिएको थियो। सम्मानित हुने कर्मचारीहरूमा शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत उपसचिव श्री सन्दिप पौडेल, पूर्वाधार शाखामा कार्यरत श्री विमलराज सेन ठकुरी तथा वडा नं. १ कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्री अम्बिका थापा रहनुभएको थियो।







