समाचार
२२औँ अधिवेशनको दोस्रो बैठक
भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न
_________________________________
नीति तथा कार्यक्रम पारित, ६३ करोड ५४ लाख ५५ हजारको बजेट पेश
_________________________________
भिमाद नगरपालिका नगर सभाको २२औँ अधिवेशनको दोस्रो बैठक आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिनुका साथै आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सभा समक्ष प्रस्तुत गरिएको छ।
बैठकमा सभा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री शारदा खनालज्यूले आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ५४ लाख ५५ हजार रुपैयाँको बजेट वक्तव्य सभा समक्ष पेश गर्नुभएको थियो। बजेट वक्तव्यका साथै आर्थिक विधेयक, २०८३ तथा विनियोजन विधेयक, २०८३ समेत प्रस्तुत गर्नुभएको थियो। साथै, नगर सभाको पहिलो बैठकमा प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरू समेत यस बैठकबाट पारित भएका छन्।
यसैगरी, उक्त बैठकमा सुशासन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८३, विज्ञापन विधेयक, २०८३ तथा नगर कार्यपालिकाका निर्णय अनुमोदन सम्बन्धी विभिन्न प्रस्तावहरू समेत सभा समक्ष पेश गरिएका छन्। सभामा प्रस्तुत भएका प्रस्तावहरूमाथि विस्तृत छलफल तथा आगामी प्रक्रियाका लागि नगर सभाको अर्को बैठक असार ३० गते बस्नेछ।









