समाचार
वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
मिति: २०८२ कार्तिक ११ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग 
विवरण:
मिति २०८२ कार्तिक ११ गते सोमबार, श्रद्वेय नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा तथा नेपाल सरकारका पूर्वमन्त्री माननीय किरण गुरुङज्यूको प्रमुख आतिथ्यतामा, भिमाद नगरपालिकाद्वारा आयोजित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (NNRFC) को सहजीकरणमा “वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा आयोगका अध्यक्ष श्री जुद्ध बहादुर गुरुङज्यूले सो विषयमा विस्तृत प्रस्तुति दिंदै स्थानीय तहमा स्रोत वितरण र वित्तीय पारदर्शिताका सिद्धान्त, संघीय प्रणालीमा राजस्व बाँडफाँटको प्रक्रिया र त्यसका मापनका सूचकाङ्कहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले यी सूचकहरूबारे सचेत नगरपालिकाहरूले अझ बढी वित्तीय स्रोत हासिल गर्न सक्ने सम्भावना रहेको विषयमा समेत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगर उप–प्रमुख श्री शारदा खनालज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू,राजनीतिक दलका प्रतिनिधिज्यूहरु , पत्रकार तथा विभिन्न शाखा प्रमुखज्यूहरू र कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमले स्थानीय तहमा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापनमा पारदर्शिता तथा आगामी वर्षका योजनामा वित्तीय सूचकहरूको प्रयोगको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरेको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
















